images
images

धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति


  • 350
    SHARES
  • २०८१ बैशाख ३ गते सोमबार

    धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति

    म्याग्दी । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् ।  धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । 

    विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् । 

    धवलागिरि आरोहण अनुमतिवापत ३५ लाख ७० हजार ८ सय ४० रुपैयाँ र अन्नपूर्ण आरोहण अनुमति वापत रु ५९ लाख ६१ हजार सात सय ८० रोयल्टी (सलामी दस्तुर) सङ्कलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताए । 
     
    गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् ।  

    यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका छन् । पेपरले सेभन समिट टे«कका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गर्नुभएको सभेन समिट टे«क्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।

    शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन्। 

    पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट ३४ करोड ४३ लाख ९९ हजार ६ सय ५६ रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ । 


    images

    Logo