काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपस मर्जर भएपछि असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले भोली देखि शेयर कारोबार रोक्का हुने भएको हो ।
दुवै लघुवित्त मर्जर भएपछि असार ३० गतेदेखि सम्पदा लघुवित्त नाममा एकीकृत कारोबार हुने भएको छ । नेप्सेले सोही क्रममा दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।
दुबै संस्थाहरुको धितोपत्र कारोबार कम्तिमा १५ दिनका लागि रोक्का भएको हो ।
गोरखाको हरमटारीमा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र तनहुँका डुम्रेमा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड १ः१ अनुपातमा मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले दुई कम्पनीलाई असार १३ गते मर्जरका लागि अन्तिम स्वीकृती दिएको थियो ।
मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ ।



