images
images

सुकिलुम्बा विमानस्थलबाट पुन: हवाई उडान शुरू हुने


  • 370
    SHARES
  • २०८१ भाद्र १९ गते बुधबार

    सुकिलुम्बा विमानस्थलबाट पुन: हवाई उडान शुरू हुने

    काठमाडौं । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा शुरू भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः शुरू हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए ।

    गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता थप उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो ।

    गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए ।

    नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान भर्दै आएको थियो । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुई वटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ ।

    फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका बिभिन्न यात्रुलाई काठमाडौं आवतजावतमा सहज हुँदै आएको छ ।


    images

    Logo