images
images

शरद ऋतुमा १३२ जनाले लिए हिमाल आरोहणको अनुमति, १ करोड ३० लाख रोयल्टी संकलन


  • 305
    SHARES
  • २०८१ भाद्र २० गते बिहीबार

    शरद ऋतुमा १३२ जनाले लिए हिमाल आरोहणको अनुमति, १ करोड ३० लाख रोयल्टी संकलन

    काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।

    पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन्।

    विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन्।

    तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन्। किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ। यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ।

    शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन्।

    मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो। सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए। त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ।

    सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए।

    पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ।

    यो सिजनका लागि हिमाल आरोहणबापत एक करोड ३० लाख ९६ हजार दुई सय ६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ।


    images

    Logo