images
images

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने


  • 337
    SHARES
  • २०८१ भाद्र २४ गते सोमबार

    जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने

    तुलसीपुर  । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए। 

    निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उहाँले जानकारी दिए। “हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ”, उनले भने, “त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।”

    अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उहाँले बताउनुभयो । हाल दाङबाट काठमाडौं जाँदा रु सात  हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उनले बताए । अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उनको भनाइ छ ।

    यसअघिको शुक्रबार दाङबाट काठमाडौं जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए ।

    उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।


    images

    Logo