काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहणका लागि ३६२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १० हिमाल आरोहणका लागि ३८ टोलीका ३६२ जनाले अनुमति लिएका हुन् ।
आरोहणका लागि अनुमति लिएकामध्ये २७४ जना पुरुष र ८८ जना महिला रहेको विभागले जनाएको छ ।
अनुमति लिइएका १० हिमालमध्ये पर्यटकको सर्वाधिक आकर्षण मनास्लु हिमालका लागि रहेको तथ्यांकमा देखिएको छ । मनास्लु हिमाल आरोहणका लागि २८ टोलीका ३०८ जनाले अनुमति लिएका छन् । त्यसमध्ये, २२६ जना पुरुष र ८२ जना महिला रहेको विभागले जनाएको छ ।
यस वर्षको शरदमा हिमाल आरोहण गर्न अनुमति लिएकाहरुमध्येबाट हालसम्म रोयल्टीवापत ४ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ । त्यमध्ये मनास्लु हिमालका आरोहीहरुबाट मात्रै ३ करोड ७१ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांकमा जनाइएको छ ।
हिमाल आरोहणका लागि शरद् ऋतु अन्यभन्दा उपयुक्त मानिन्छ । उक्त ऋतुमा मौसम खुला हुने र हिमपहिरोको सम्भावना कम हुने भएका कारण पनि पर्यटकहरु आरोहणका लागि आउने गरेका छन् ।


