काठमाडौं । पछिल्लो ९ महिनामा ८ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांक अनुसार चालू अंग्रेजी वर्ष २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म विभिन्न देशका आठ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
बोर्डको तथ्यांक अनुसार गत महिना अर्थात् सेप्टेम्बरमा मात्रै ९६ हजार ३०५ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त संख्या सन् २०२३ को सोही अवधिको तुलनामा ५.८२ प्रतिशत बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
तथ्यांक अनुसार सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना, सन् २०२१ मा नौ हजार ९०७ जना, सन् २०२० मा ५८४ जना र सन् २०१९ मा ९२ हजार ६०४ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना र सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २२ हजार ९८४ जना नेपाल आएका हुन् ।
त्यस्तै सोही अवधिमा चीनबाट आठ हजार ४२ जना, अमेरिकी पर्यटक १० हजार ८४ जना, बंगलादेशबाट चार हजार १०३ जना, जर्मनीबाट दुई हजार ७०४ र युकेबाट चार हजार ४९३ जना पर्यटक नेपाल आएका छन् । त्यसै गरी अगस्टमा भुटानबाट एक हजार १०८, अस्ट्रेलियाबाट पाँच हजार ३८, जापानबाट एक हजार ८८७ जना, श्रीलंकाबाट चार हजार ९१५, साउथ कोरियाबाट दुई हजार ३५१ जना र मलेसियाबाट दुई हजार २८० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।


