काठमाडौं । ‘बिछोडको पीडा नसकि खप्न दशैंको बेलामा...’, । विदेशिएकाहरुको पीडा बोल्ने सदावहार दशैंको गीत हो यो । नारायण गोपाल र दिलमाया खातीको स्वरमा रहेको यो गीतजस्तै अरु पनि गीत छन् जसले दशैं आएको अनुभूत गराउँछन् ।
दशैंको समयमा नयाँ गीत रिलिज गर्ने होड नै चल्छ । तर केही गीतहरु छन् जुन वर्षौँदेखि मानिसहरुको मन मष्तिस्कमा रहिरहेका छन् । हामी तपाईंलाई दशैंको बारेमा गाइएका केही सदाबहार 'कालजयी' गीत प्रस्तुत गर्दैछौं ।
१. मौलिक मालश्री
जब दशैं आउँछ रेडियो टेलिभिजनमा मालश्री बज्न थाल्छ । मुख्यतयाः दशैं तिहारमा बजाइने मालश्री खासमा राग हो । यो दशैंमा बज्ने सबैभन्दा चर्चित संगीत हो ।
२. ‘विछोडको पीडा नसकी खप्न …’
विछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा
नारायण गोपाल र दिलमाया खातीले स्वर भरेकोे यो गीत दशैंमा सधै गुञ्जिन्छ । दशैंको बेलामा परदेशमा रहँदाको पीडा, परदेशीको घर फर्किने चाहना समेटिएको यस गीतमा रत्नशम्शेर थापाको शब्द तथा नारायण गोपाल स्वयंको संगीत छ । ३० को दशकमा रेकर्ड भएको यो गीत दशैंको कालजयी गीत बन्न सफल रहेको छ ।
३. ‘नमुछे आमा दहीमा टीका …’
नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
दशैं आउने बित्तिकै धेरैले सम्झिने अर्को कालजयी गीत हो । यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् ।
परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए । तर, शुरूमा गीतले त्यति चर्चा पाएनन् । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । यस गीतलाई पछि प्रशान्त तामाङले पनि चलचित्रका लागि गाएका छन् ।
नारायण रायमाझीको संगीतमा कृष्णभक्तले रेकर्ड गराएपछि एकाएक चर्चामा पुगेको यो गीत दशैंका सदावहार गीतमध्ये सबैभन्दा मार्मिक गीत हो ।
४. दशैं कि दशा?
दशैं नै हो कि यो मेरो दशा फर्की आएको
वचनैपिच्छे किन यो मेरो टाउको खाएको
दशैं आएको… दशैं आएको…
दशैं पर्वमात्र होइन, यसको आफ्नै अर्थिक महत्व पनि छ। त्यसैले त भनिन्छ दशैं आफ्नो गच्छेअनुसार मनाउनुपर्छ। दशैंमा नयाँ लुगा चाहियो, घर सजावट गर्नैपर्यो, खसी र च्यांग्रा ढलाउनैपर्यो अनि मान्यजनलाई दानदक्षिणा पनि गर्नैपर्यो। योगेश्वर आमात्यले गाएको यो गीत दशैंका यस्तै समस्याका बारेमा छ। आवश्यकता असीमित तर पैसा सीमित। त्यसैले त यो गीतमा घरमुली 'पैसा न सैसा टिकी ट्यास ट्यास!' भन्दै तनाव व्यक्त गर्छन्।
५. मुगलानको ‘दशैं आयो…’
पिढीँमा बसी, औला भाची, छोराको आउने दिन गन्दैथिन्
दशैंको दिन ती बुढी आमै आइपुग्दा छोरो दंगै छिन्
दशैंका बारेमा लेखिएको यो सदाबहार गीत नेपाली फिल्म ‘मुगलान’ को हो। परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गीतमा छन्। दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापाको अभिनय यो गीतमा छ।
६. फौजीको दशैं….
फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार
किन आउँछ दशैं तिहार किन बिदा बार
फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार
कर्तव्य नै हाम्रो दशैं कर्तव्य तिहार
सबैले दशैं मनाइरहँदा सेना प्रहरी भने घर जान पाउँदैनन्। तन सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन खटिए पनि मन हुन्छ गाउँघरमा। सशस्त्र प्रहरीका इन्सपेक्टर दीपक कोइरालाले लेखेको यो गीतले यस्तै सुरक्षाकर्मीको कथा बोल्छ। यो गीत सशस्त्र प्रहरीको अडियो भिजुअल सेक्सनले निकालेको हो। गीत भन्छ- हामीलाई दशैं तिहार कहिल्यै आएन। सुरक्षा र सेवा नै हाम्रो कर्तव्य हो। परिवारले घर आउ भनेर पत्र पठाउने र लालाबाला बाटो हेर्ने भएपनि मन बुझाउन भन्नुपर्ने गीतका शब्द छन्। घर आउने झिनो आश राख्न अनुरोध गीतमा छ। जगदीश समालले गाएको गीतमा गैरे सुरेशको संगीत छ। यो गीतको संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका हुन्।
७. सुगमको वर्षमा दिनमा लै लै…
वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै
दशैं तिहार चाडबाड खुसीले सारा भर्यो नि संसार….
रवि श्रेष्ठको शब्दमा रहेको यो गीत सुगम पोखरेलले गाएका हुन्। सुगमकै अभिनय रहेको यो गीत दशैंका बारेमा गाइएका नयाँ गीत मध्ये चर्चित गीत हो। गीतमा सुगमकै संगीत छ। वर्षमा एक चोटी आउने दशैंले रमाइलो ल्याउने र निधारमा टीका अनि कानमा जमरा भएपनि विदेशमा रहेका नेपालीका आँखामा आँशु हुने कुरा गीतमा छ।
८. दशैं आयो, खाउँला पिउँला…
दशैंका गीतमध्ये यो बालगीत निकै चर्चित छ । बच्चाहरुले गाउँने यो गीतमा चोरेर भए पनि दशैं मनाउँछु भन्नेलाई चोर्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ । यो बालगीतबाट प्रभावित भएर अन्य गीत पनि बनेका छन्। शिव थापाको यो गीत तिनै मध्ये एक हो ।
९. जीवन शर्माको ‘यसपाला त यस्तै भो आमा…’
यसपाला त यस्तै भो आमा,
अर्को साल आउने छु दशैंमा
जनगायक जीवन शर्माले गाएको ‘यसपाला त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह समेटिएको छ। जीवनलाई धेरै स्टेज कार्यक्रममा यो गीत गाउन आग्रह गरिन्छ।


