काठमाडौं । एकै दिनमा सबै टिकट बिक्री भएपछि नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले काठमाडौं–भैरहवामा अर्को उडान गर्ने तयारी गरेको छ । बुधबार फूलपातीका दिन गर्ने भनिएको उडानको सबै टिकट बिक्री भएपछि निगमले अर्को पनि उडान भर्ने तयारी गरेको हो ।
हिजो बेलुका यात्रुको चाप बुझ्नका लागि एक घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको थियो । आज बिहान सबै १ सय ५८ वटै टिकट बिक्री भएको वायु सेवा निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी काठमाडौं–भैरहवा अर्को पनि उडान गर्ने तयारी थालिएको निगमले जनाएको छ । तर अझै टुङ्गो भने लागेको छैन । अर्को उडान हुने/नहुने विषय बेलुकासम्म टुङ्गो लाग्ने निगमले जनाएको छ ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको एक सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।
फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाडौं फर्किनेछ । काठमाडौंबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाडौंको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ ।


