images
images

१९७ प्रतिशत सम्म बढ्यो विकास बैंकको नाफा, राष्ट्रिय स्तरको एक विकास बैंकको मात्रै नाफामा गिरावट


  • 1.7K
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    १९७ प्रतिशत सम्म बढ्यो विकास बैंकको नाफा, राष्ट्रिय स्तरको एक विकास बैंकको मात्रै नाफामा गिरावट

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा २९ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा यस्तो अवस्था देखिएको हो । 

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ विकास बैंकले १ अर्ब १० करोड रुपैयाँ नाफा गरेका थिए । उक्त नाफा यसपटक २९.०६ प्रतिशतले बढेर १ अर्ब ४२ करोड रुपैयाँ पुगेको हो । 

    राष्ट्रिय स्तरका ८ मध्ये ७ वटा विकास बैंकको नाफा बढेको छ । यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा सांग्रीला, कामना सेवा, लुम्बिनी, साइन रेसुङ्गा, गरिमा, ज्योति र मुक्तिनाथ विकास बैंक रहेका छन् ।  महालक्ष्मी विकास बैंकको नाफा भने घटेको छ ।  

    नाफा बढेका ५ बैंक

    नाफा बढेका विकास बैंकहरु मध्ये ज्योति विकास बैंकको नाफा सर्वाधिक १९७.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड ८ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर १५ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

    त्यस्तै, कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशले बढेर १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । 

    सांग्रीला विकास बैंकको नाफा पनि २९.१६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तीन महिनामा ४ करोड ६५ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ । 

    त्यस्तै, शाइन रेसुङ्गा विकास बैंकको नाफा पनि २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त बैंकले १९ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो । 

    राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा गरेको मुक्तिनाथ बैंकको नाफा यसपटक २३.१६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकले यसपटक नाफा बढाएर २८ करोड १८ लाख रुपैयाँ पुर्याएको हो । 

    त्यस्तै, अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ३२ लाख रुपैयाँ नाफा गरेको लुम्बिनी विकास बैंकको नाफा यसपटक १६.५६ प्रतिशतले बढेर २० करोड १९ लाख रुपैयाँ पुगेको छ । 

    साथै, गरिमा विकास बैंकले पनि १२ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १५ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर २२ करोड ५७ लाख रुपैयाा पुगेको छ । 

    Profit in 1st quarter dev. bank.jpg

    एउटै मात्र विकास बैंकको नाफा घट्यो

    चालू आर्थिक वर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंकको मात्रै नाफा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ५३ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक भने १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ । 


    images

    Logo