काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतउपर आज संघीय संसद अन्तर्गतत प्रतिनिधिसभामा निर्णायक मतदान हुँदैछ । तर, पछिल्लो अवस्था हेर्दा ओलीले विश्वासको बत नपाउने निश्चित भइसकेको छ ।
ओलीले विश्वासको मत नपाएको अवस्थामा नयाँ सरकार गठनको गृहकार्य सुरु हुन्छ । सरकारले विश्वासको मत नपाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् । संविधानको धारा ७६ ले नयाँ सरकार गठनसम्बन्धी व्यवस्था गरेको छ ।
संविधानको धारा ७६ (१) ले राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नसक्ने व्यवस्था छ । तर, संसदमा कुनै पनि दलको बहुमत नभएको हुनाले त्यो सम्भव छैन । यस्तो अवस्थामा धारा २ को व्यवस्था आकर्षित हुन्छ ।
धारा ७६ (२) ले प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभाको कुनै प्रतिनिधिलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार आगामी प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा अगाडि आउनसक्ने सम्भावना देखिन्छ ।
तर, देउवाले बहुमत जुटाउन नसकेको अवस्थामा धारा ७६(३) आकर्षित हुन्छ । यस्तो अवस्थामा राष्ट्रपतिले ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नसक्ने व्यवस्था छ । त्यस्तो सदस्यले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ ।
अबको सरकार ७६(२) अनुसार हुन्छ कि ७६(३) अनुसार भन्ने एकीन भइसकेको छैन । तर, एमालेका माधन नेपाल पक्षले सामूहिक राजीनामा दिइसकेको अवस्थामा काँग्रेस, माओवादी र जसपाका संसद मिल्दा संसदमा बहुमत पुग्नसक्ने अवस्था छ । यसैले अबको प्रधानमन्त्रीको रुपमा देउवाको सम्भावना बलियो देखिन्छ ।
को बन्ला अर्थमन्त्री ?
काँग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबीच नयाँ सरकारको खाकाबारे सामान्य कुराकानी भइसकेको बताइन्छ । यसअनुसार गृहमन्त्रीमा भीम रावलको चर्चा छ भने परराष्ट्र मन्त्रालयमा उपेन्द्र यादवको नाम चर्चामा छ ।
माधव नेपाल पक्षले गृहमन्त्री पाएको अवस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी काँग्रेसको भागमा पर्नेछ । काँग्रेसका तर्फबाट अर्थमन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का र मीनेन्द्र रिजाल प्रत्यासी रहेको बताइन्छ ।
तर सत्ता समीकरणमा फेरबदल भएर गृहमन्त्री माधव नेपालले नपाएको अवस्थामा अर्थमन्त्रीमा सो पक्षको दाबी रहन्छ । अहिले माधव नेपाल पक्षबाट अर्थमन्त्रीका एक्ला दाबेदार सुरेन्द्र पाण्डे हुन् ।
अर्थमन्त्रीमा माओवादीको भाग परेको अवस्थामा अबको अर्थमन्त्रीमा वर्षमान पुन: अर्थमन्त्री हुने सम्भावना बढी छ। तर, माओवादी केन्द्रले अर्थ मन्त्रालय लिनेबारे खासै चर्चा नभएको बताइन्छ ।
संविधानको धारा ७६(३) अनुसार केपी ओली नेतृत्वकै सरकार बन्यो भने चाहिँ अर्थमन्त्रीमा विष्णु पौडेल नै रहनेछन् ।


