images
images

सेती प्रादेशिक अस्पताललाई निःशुल्क भेन्टिलेटर उपलब्ध


  • 295
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    सेती प्रादेशिक अस्पताललाई निःशुल्क भेन्टिलेटर उपलब्ध

    सुदुरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर निःशुल्क उपलब्ध गराएको छ । 

    बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे । उनले भने, “कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ ।”
     
    निर्देशक बस्नेतले कोभिड–१९ को महामारीपछि नेपाल सरकारले सहयोगका लागि विश्वव्यापी रुपमा गरेको आग्रहबमोजिम हेक्याफको पहलमा सेवामूलक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चुजी फाउण्डेशनबाट भेन्टिलेटर प्राप्त भएको बताए । “तेस्रो लहरको कोरोना भाइरस फैलिए बालबालिकालाई बढी असर पार्न सक्ने भनिएको छ”, उनले भने, “दातृ निकायसँग समन्वय गरेर उपलब्ध गराइएको भेन्टिलेटर बालबालिकासहित सबै उमेरका नागरिकको उपचारमा प्रयोग गर्न मिल्ने भनिएको छ ।” 

    हेक्याफले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर देशभरिका विभिन्न अस्पतालमा जम्मा २ सय ६५ थान यस्ता भेन्टिलेटर उपलब्ध गराउन लागेको छ । प्रतिगोटा यो भेन्टिलेटरको बजार मूल्य झण्डै रु २२ लाख पर्ने बताइएको छ । तीन दिनअघि कञ्चनपुरको महाकाली अस्पतालमा दुई थान भेन्टिलेटर उपलब्ध गराएको उक्त संस्थाले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो । 

    ती उपकरणको सञ्चालनमा  दक्ष जनशक्तिको अभाव हुँदा समस्या भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालमा यस्तो समस्या झेल्नुपरेको छ ।मेसु डा पाण्डेयले भने, “कोरोनाको समस्यापछि अस्पतालमा बिरामीको उपचारका लागि यस्ता उपकरण प्राप्त भइरहे पनि दक्ष जनशक्ति नहुँदा स–सानो समस्याले त्यसै उपकरण थन्क्याएर राख्नुपर्ने समस्या छ ।”


    images

    Logo