images
images

अवतरणमा कठिनाइ भएको भन्दै तीन वायुसेवाद्वारा भैरहवामा अन्तर्राष्ट्रिय उडान बन्द


  • 819
    SHARES
  • २०८१ मंसिर २४ गते सोमबार

    अवतरणमा कठिनाइ भएको भन्दै तीन वायुसेवाद्वारा भैरहवामा अन्तर्राष्ट्रिय उडान बन्द

    काठमाडौं । बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले त्यहाको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन् ।

    भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री, इँटा उद्योग लगायतबाट निस्किने धुवाँसहित अचेल चिसोका कारण तराईमा लाग्ने हुस्सुले बिहान उडानहरू प्रभावित भइरहेका छन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् । त्यहाँ तत्काल मौसम सुधार नहुँदासम्म उडान गर्न नसकिने जनाउँदै जानकारी दिएका छन् । प्राधिकरणले उडान स्थगन गर्न अनुमति भने दिइसकेको छैन ।

    बजारको लय बिग्रने हुँदा विदेशी वायुसेवाले पनि उडान स्थगन गर्न भने चाहेका छैनन् । तर पनि प्रतिकुल माैसमका कारण उनीहरू केही समयका लागि उडान स्थगन गर्न अपिल गरिरहेको छन् । प्राधिकरणले निर्णय गरिसकेको छैन । उनीहरूलाई बिहानपछि दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरीएको छ ।

    अहिले भैरहवामा बिहान १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो भिजिबिलिटी साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन । यिनलाई अवतरण गर्न न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । प्राधिकरणले माघ १० गतेदेखि भैरहवामा भूउपग्रहको सहायतामा जहाजलाई अवतरण गराउने आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन)प्रणाली लागू गर्दै छ । यो प्रणालीमा न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् ।

    प्राधिकरणले जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियालाई आरएनपीएआर लागू हुनुअघिसम्म समय हेरफेर गरेर उडानलाई निरन्तरता दिन भनेको छ । यी वायुसेवाले जवाफ दिएका छैनन् । भैरहवामा एक महिनाको अवधिमा फ्लाई दुबईले ५०, जजिराले २२, कतारले ३८, नेपाल वायुसेवा निगमले २४ र थाई एयर एसियाले १० वटा उडान गरेका थिए । बुधबारसम्मको तथ्यांक अनुसार यो अवधिमा अन्तर्राष्ट्रिय तर्फ ४७ सय ७१ यात्रु आवागमन भएको थियो । कतार एयरवेजले यी तीन वायुसेवा भन्दाअघि मंसिर १५ पछि यात्रुको अभाव देखाउँदै उडान रोकिसकेको छ । यस्ले कार्तिक २७ देखि भैरहवामा उडान थालेको थियो ।


    images

    Logo