राँझा । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए ।
उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरबासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा घुम्नका लागि पैदलमार्ग, हात्ती सफारी, बास बस्नका लागि घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ ।
कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताए । उनले वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको बताए । बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनी बढ्दै गए पनि स्थापनाको एकदशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।
निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन आफूहरू लागिपरेको जनाउँदै उनले भने, “निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छौं ।”
आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ८ सय ९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८ सय ६५ जना नेपाली पर्यटक नै छन् । दश वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो सङ्ख्या बढेको हुनसक्ने निकुञ्जको अनुमान छ ।


