काठमाडौं । यसवर्षको शरद ऋतुमा छ सय २५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ महिला र ५ सय ४३ पुरुष गरी ६ सय २५ जनाले नेपालका विभिन्न हिमाल आरोहण गरेका हुन् ।
पर्यटन विभागका अनुसार अगस्ट १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म आरोहण अनुमति लिएका ८ सय ७० जना र उनीहरुका सहयोगीसमेत गरी २ हजार दुई सय ४५ जना आरोहणमा गएका थिए । तीमध्ये ६ सय २५ चुचुरोमा पुगेका हुन् । आरोहण अनुमति लिएका ८ पर्यटकले ज्यान गुमाएको पनि विभागले जानकारी दिएको छ ।
गत वर्ष भने शरद ऋतुमा ८७ महिलासहित १ हजार १ सय ५८ जनाले नेपालका हिमाल आरोहण गरेका थिए । यसवर्ष विभागले ८ करोड ५९ लाख ९७ हजार रुपैयाँ रोयल्टी आरोहण अनुमतिबाट संकलन गरेको छ । अघिल्लो वर्षको शरद ऋतुमा ७ करोड ८५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।