images
images

आज धनतेरस मनाइँदै, धातुका सामान किन्न ११ बजेपछि शुभसाइत


  • 596
    SHARES
  • २०७८ कार्तिक १६ गते मंगलबार

    आज धनतेरस मनाइँदै, धातुका सामान किन्न ११ बजेपछि शुभसाइत

    काठमाडौं । तिहार पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनमा मनाइने ‘धनतेरस’सँगै आजदेखि तिहार पर्व सुरु भएको हो । मिथिला क्षेत्रमा धनतेरसमा धातुका सामानहरु किन्ने चलन रहिआएको छ । 

    धनतेरसका लागि आज बिहान ११ बजेदेखिको समय शुभ हुने जनाइएको छ । आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झा बताउछन् । 

    मिथिला क्षेत्रमा घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको झाले बताए । कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती पनि आजै परेको छ ।

    दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा  पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई  लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । 

    सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

    अहिले मिथिला क्षेत्रमा मात्रै नभएर देशभरी नै यो पर्व मनाउन सुरु भइसकेको छ । धनतेरसकै अबसरमा नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का समेत बिक्री गर्दैछ । 


    images

    Logo