images
images

२०२४ मा साढे एघार लाख विदेशी पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको तुलनामा १४% बढी


  • 359
    SHARES
  • २०८१ पौष १८ गते बिहीबार

    २०२४ मा साढे एघार लाख विदेशी पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको तुलनामा १४% बढी

    काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । 

    बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

    बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

    विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो ।

    उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ  । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।
         
    निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका ८ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ ।

    कुन महिनामा कति पर्यटक

    मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३  सय ९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए । 

    डिसेम्बरमा ८९ हजार ७ सय ६५, नोभेम्बरमा एक लाख १४ हजार ५ सय १, सेप्टेम्बरमा ९६ हजार ४ सय ५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ र अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका थिए ।


    images

    Logo