काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको हालै सम्पन्न बैठकले पूर्व सहसचिव किशोरजंग कार्कीलाई बैंकको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
कार्कीले आफ्नो लामो सरकारी सेवामा लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए । साथै, उनले निजामति किताब कारखाना, आन्तरिक राजस्व विभाग र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको रूपमा काम गरेका थिए ।
उनको अनुभवमा नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समितिका सदस्यको भूमिकासमेत पर्दछ । उनी ९ भदौ २०३९ मा सरकारी सेवामा प्रवेश गरी ६ वैशाख २०७७ मा सेवा निवृत्त भएका थिए ।
त्यस्तैगरी, सञ्चालक समितिको सोही बैठकले स्वतन्त्र सञ्चालकको रूपमा कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई नियुक्त गरेको छ ।


