काठमाडौं । एलेक्साको २५ वर्ष पुरानो वेभसाइट र्याङ्किङ प्रणाली बन्द हुने भएको छ । सो प्रणालीका सञ्चालक विश्वकै चर्चित कम्पनी अमेजनले यो सेवालाई आगामी मे १ तारिखदेखि औपचारिक रुपमा बन्द गर्ने जनाएको हो ।
त्यसको तयारीस्वरुप अमेजनले डिसेम्बर ८ (बुधबार) देखि नयाँ ग्राहक बनाउन समेत छोडेको छ । अहिले बाँकी रहेका प्रयोगकर्ताका लागि समयावधि रहेसम्म अमेजनले एलेक्साको साइट र्याङ्किङ सेवा उपलब्ध गराउनेछ ।
डिसेम्बरसम्म सेवा खरिद गरेका ग्राहकले अब यो प्रणालीमार्फत् आगामी मेसम्म सेवा प्राप्त गर्नेछन् । त्यसपछि भने यसको विकल्प खोज्नुपर्ने हुन्छ । तर, ग्राहक कायम नरहेका व्यक्ति तथा निःशुल्क प्रयोगकर्ताका लागि भने यो सेवा अहिले नै पूर्ण रुपमा बन्द भइसकेको छ ।
एलेक्साले देश तथा प्रकृतिको आधारमा वेभसाइटको सूचीकरण गर्दै आएको थियो । त्यसबाहेक कुनै पनि वेभसाइटको बारेमा सूचना तथा प्रतिस्पर्धी वेभसाइटको अवस्थासँग तुलना गर्दै ग्राहकलाई सूचना दिँदै आएको थियो । तर, अब के कारणले सेवा बन्द गर्न लागियो भन्नेबारे केही खुलाइएको छैन ।
बेभसाइटमा यतिमात्रै लेखिएको छ, ‘वि विल बि रिटार्यरिङ एलेक्सा डटकम अन मे १, २०२२’ अर्थात्, मे १, २०२२ देखि हामी अवकाश हुँदैछौं । यद्यपि पछिल्लो समय एलेक्साको बजार गुगलले लिएपछि अमेजनले सेवा बन्द गर्न लागेको अनुमान गरिएको छ ।


