काठमाडौं । मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले नेपाल सरकार कार्य विभाजन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रधानमन्त्री कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको बताए । सरकारले विश्वव्यापी आवधिक पुनरावलोकन चौथो चक्रको राष्ट्रिय प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारले महानगरपालिका र उपमहानगरपालिकाभित्र एकपटकमा रु तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिने व्यवस्थासम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
यसैगरी राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधामा एकरूपता कायम गर्नेसन्दर्भमा पूर्वसचिव रामप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।



