निर्वाचन आयोगले फागुन अन्तिम साताका लागि घोषित प्रतिनिधिसभाको चुनावसम्बन्धी कार्यतालिका सोमवार सार्वजनिक गरेको छ।
आयोगको कार्यतालिकामा आसन्न प्रतिनिधिसभा चुनावका विभिन्न गतिविधिहरू समाविष्ट छन्।
जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलकारीको मागबमोजिम प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेकी थिइन्। संसद् विघटन भएपछि त्यसैअनुरूप फागुन २१ गते निर्वाचनको मिति तय भएको हो।
कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।
आमनिर्वाचन आउन १५० दिन बाँकी छँदा आयोगले उक्त कार्यतालिका सार्वजनिक गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले जुनसुकै हालतमा निर्धारित समयसीमाभित्रै चुनाव सम्पन्न गराई जननिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पने बताउँदै आएकी छन्।


