काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले एमडीएमएस प्रणाली भ्रष्टाचारले गाँजिएको दाबी गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै उनले एमडीएमएसबारे बुझ्ने क्रममा यो प्रणाली भ्रष्टाचारको जालभित्र परेको निष्कर्षमा पुगेको बताए । उक्त जालो हटाउन सजिलो नभए पनि ढिलो–चाँडो यसलाई तोड्नैपर्ने उनको भनाइ थियो ।

मन्त्री खरेलले मोबाइल व्यवसायले अर्थतन्त्र चलायमान बनाउनुका साथै सामाजिक सम्बन्ध मजबुत बनाउने भूमिका खेलेको बताए । मोबाइल व्यवसायीहरूले परिवार र समाजलाई जोड्ने काम गरिरहेको र अभिभावक तथा सन्तानबीचको संवाद सहज बनाइरहेको उनले उल्लेख गरे ।

मोबाइल क्षेत्रमा ठूलो संख्यामा जेन–जी युवाहरू संलग्न भई देशमै रोजगारी सिर्जना भइरहेको उल्लेख गर्दै उनले यस व्यवसायसँग सम्बन्धित समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । सरकारको समय सीमित भए पनि व्यवसायीहरूका गुनासो सुन्न र समाधान खोज्न तयार रहेको उनको भनाइ थियो ।

देशले नयाँ सोच र परिवर्तन खोजिरहेको अवस्थामा दैनिक हजारौँ युवाहरू विदेश पलायन हुनु दुःखद भएको मन्त्री खरेलले बताए । व्यक्ति र स्वार्थ केन्द्रित राजनीतिका कारण मुलुकले अपेक्षित प्रगति गर्न नसकेको भन्दै उनले नागरिकलाई मतदान गर्दा सचेत हुन आग्रह गरे ।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणालीका कारण व्यवसायी र उपभोक्ता दुवै अन्योलमा परेको बताए । उनले एमडीएमएसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न वा खारेज गर्न सरकारसँग माग गरे । साथै, बजारमा उपलब्ध मोबाइल र एक्सेसोरिजको गुणस्तर परीक्षण आवश्यक रहेको बताउँदै अवैध ‘ग्रे’ मोबाइलको कारोबार नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं जिल्ला अध्यक्ष सुरेश बानियाँले सेकेन्ड–ह्यान्ड मोबाइल कारोबारलाई वैधता दिन सके राज्यको राजस्व बढ्ने र पूँजी बाहिरिन नदिइने बताए । विदेशका केही देशमा पुराना मोबाइलको पुनःप्रयोग र कारोबारलाई प्रोत्साहन गरिएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पनि यस्ता नीतिहरू लागू गर्नुपर्ने बताए । साथै, स्वदेशमै उत्पादन भएका मोबाइल एक्सेसोरिजलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।


