काठमाडौं । आगामी निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा गरिएको छ । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा गरेको हाे ।
आयोगले २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि ९० दिनसम्मको बीमा गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगले साे बीमा बारे जानकारी गराएको जनाइएको छ । साथै आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढाएकाे छ ।
आयोगले सरकारी निकायबाटै ‘जिटुजी’ मार्फत् त्यस्ता सामान खरिद गर्न लागेको जनाएको छ । जिल्लास्थित कार्यालयहरूले खरिद गर्ने सामग्री समेत सम्भव भएसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका कार्यालयबाट आपूर्ति गर्ने गरी जिल्ला कार्यालयहरूले प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
हालसम्म ३३ जिल्ला निर्वाचन कार्यालयले यस्तो सम्झौता गरेको आयोगले जनाएकाे छ ।


