images
images

स्कटल्यान्डले नेपाललाई जितका लागि दियो एक सय ४१ रनको लक्ष्य


  • 99
    SHARES
  • २०८२ माघ १२ गते सोमबार

    स्कटल्यान्डले नेपाललाई जितका लागि दियो एक सय ४१ रनको लक्ष्य

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डले नेपाललाई जितका लागि एक सय ४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनाएको हो ।

    नेपाली टोलीले तेस्रो ओभरमै स्कटल्यान्डको तीन विकेट लिइसकेको थियो । स्कटल्यान्डको शुरू तीनसँगै चार विकेट मनिषा उपाध्यायले लिएर राम्रो शुरुवात दिलाएकी थिइन् । मनिषाले पहिलो ओभरको दोस्रो बलमै ओपनर क्याथरिन फ्रासरलाई शून्य रनमा बोल्ड गरिन् । 

    पहिलो ओभरको चौथो बलमा मनिषाले अर्की ओपनर डार्सी कार्टरलाई एक रनको व्यक्तिगत स्कोरमा सम्झना खड्काद्वारा क्याच गराइन् ।  मनिषाले तेस्रो ओभरको चौथो बलमा कप्तान क्याथरिन ब्राइसलाई आठ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारिन् । स्कटल्यान्डले तेस्रो विकेट गुमाउँदा केवल १७ रन बनाएको थियो ।

    स्कटल्यान्डको चौथो विकेट अनुभवी अलराउन्डर सीता रानामगरले लिइन् । उनले स्कटल्यान्डकी सारा ब्राइसलाई बोल्ड गरिन् । पेभेलियन फर्किनुअघि साराले १८ बलमा तीन चौकाको मद्दतले १८ रन बनाइन् । स्कटल्यान्डको पाँचौं विकेट पनि मनिषाले लिइन् । 

    उनले १०औं ओभरको अन्तिम बलमा एलिसा लिस्टरलाई कविता जोशीद्वारा क्याच गराइन् । आउट हुनुअघि एलिसाले २४ बलमा चार चौकाको मद्दतले २२ रन बनाइन् । पाँचौं विकेट गुमाउँदा स्कटल्यान्डले ६० रन बनाएको थियो ।

    स्कटल्यान्डको छैटौं विकेट कविता जोशीले लिइन् । कविताले मेगन म्याककोललाई बोल्ड गरिन् । पेभेलियन फर्किनुअघि मेगनले १४ बलमा दुई चौकाको मद्दतले १७ रन बनाएकी थिइन् । १२औं ओभरको चौथो बलमा मेगन आउट हुँदा स्कटल्यान्डले ७९ रन बनाएको थियो ।

    स्कटल्यान्डको सातौं विकेट रुविना क्षेत्रीले लिइन् । उनले रचेल स्लाटरलाई ११ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरिन् । १८औं ओभरको दोस्रो बलमा स्लाटर आउट हुँदा स्कटल्यान्डले एक सय २३ रन बनाएको थियो ।

    आठौं विकेट भने रिया शर्माले लिइन् । उनले चोल अबेललाई चार रनको व्यक्तिगत स्कोरमा बोल्ड गरिन् । १९औं ओभरको दोस्रो बलमा उनी आउट हुँदा स्कटल्यान्डले एक सय २९ रन बनाएको थियो । स्कटल्यान्डको नवौं विकेट रुविना क्षेत्रीले लिइन् । 

    उनले अबताहा मक्सुदलाई एक रनको व्यक्तिगत स्कोरमा कविता जोशीद्वारा क्याच गराइन् । अन्तिम विकेट पनि रुविना क्षेत्रीले नै लिइन् । उनले ओलिभिया बेललाई शून्य रनमा बोल्ड गरिन् स्कटल्यान्डकी प्रियान्जा चटर्जी ४५ रनमा अविजित रहिन् । उनले केवल २८ बलमा सात चौका पनि प्रहार गरिन् । स्कटल्यान्डले अतिरिक्त रूपमा १३ रन पाएको थियो ।

     यो खेल जित्नैपर्ने दवावमा रहेको छ, नेपाल । प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्दै आगामी टी–२० विश्वकपमा छनोट हुने सपना जीवित राख्न नेपालले यो खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराउनै पर्ने हुन्छ । समूह ‘बी’ बाट तीनवटा टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछन् । 

    हालको स्थितिमा तीन खेलबाट ६ अंक जोडेको नेदरल्यान्ड्स ‘सुपर–६’ चरणमा पुगिसकेको छ । तीन खेलबाट चार अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । यसैगरी, तीन खेलबाट चार अंक बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक जोडेको नेपाल चौथो स्थानमा छ । लगातार चार खेलमा पराजित भएको जिम्बाब्वे यसअघि नै प्रतियोगिबाट बाहिरिइसकेको छ ।

    यो खेलमा स्कटल्यान्डलाई हराए नेपालको अंक पनि चार पुग्नेछ । त्यसपछि नेपाल, स्कटल्यान्ड र थाइल्यान्डको चार–चार अंक हुनेछ । यस्तो स्थितिमा नेट रन रेटका आधारमा अगाडि बढ्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ ।

    थाइल्यान्डले समूहगत चरणको अन्तिम खेल्न सोमबार नै नेदरल्यान्ड्ससँग खेल्दैछ । थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ बजे शुरू हुनेछ । हाल स्कटल्यान्डको नेट रन रेट १.५७५, थाइल्यान्डको नेट रन रेट –०.२८६ र नेपालको नेट रन रेट –०.३२८ रहेको छ ।

     

     

     


    images

    Logo