images
images

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा


  • 199
    SHARES
  • २०८२ माघ २० गते मंगलबार

    प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

    काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले पदबाट राजीनामा दिएका छन् । सञ्चालक समितिले उनको निलम्बन फुकुवा गरेलगत्तै उनले आइतबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।

    यसअघि बैंकिङ कसुरसम्बन्धी अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शेरचनसहित केही व्यक्तिलाई पक्राउ गरेपछि बैंक सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले प्रमाण पर्याप्त नभएको निष्कर्षसहित शेरचनलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो ।

    अनुसन्धानका क्रममा प्रहरीले बयान नसकिएको कारण देखाउँदै पटक–पटक म्याद थपको माग गरेपछि उच्च अदालत, पाटनले अन्तिम पटकका लागि पाँच दिनभित्र बयान प्रक्रिया टुंग्याउन निर्देशन दिएको थियो । अदालतको आदेशअनुसार उक्त म्याद सकिएपछि विशेष सरकारी वकिल कार्यालयले निर्णय गरी उनलाई हाजिर जमानीमा मुक्त गरेको हो ।यद्यपि, सीआईबीले शेरचनसम्बन्धी अनुसन्धान प्रतिवेदन अहिलेसम्म पनि सरकारी वकिल कार्यालयमा बुझाउन नसकेको बताइएको छ । उनी रिहा भएपछि प्रभु बैंकको सञ्चालक समितिले निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयसँगै शेरचनले सीईओ पदबाट अलग हुने निर्णय लिएका हुन् ।

    तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा सक्रिय शेरचनले यसअघि प्रभु फाइनान्स र प्रभु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । किस्ट बैंकसँग प्रभु विकास बैंक मर्जर भई बनेको प्रभु बैंकमा उनी नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरेका थिए र पछि सीईओ पदमा नियुक्त भएका थिए ।

    उनको कार्यकालमा प्रभु बैंकले ग्रान्ड बैंक, सेञ्चुरी बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्दै संस्थाको आकार र पहुँच उल्लेखनीय रूपमा विस्तार गरेको थियो ।


    images

    Logo