images
images

४३ वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कारबाहीमा पर्ने निश्चित


  • 1.2K
    SHARES
  • २०७८ पौष ११ गते आइतबार

    ४३ वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कारबाहीमा पर्ने निश्चित

    काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमनमा रहेका ४३ वटा वित्तीय संस्थाहरु कम्पनी रजिष्ट्रार कार्यालयको कारबाहीमा पर्ने निश्चित भएको छ । कम्पनी ऐन अनुसार समयमा साधारणसभा सम्पन्न गर्न नसकेपछि ती संस्थाहरु कारबाहीमा पर्ने निश्चित भएको हो । यस्ता संस्थामा ८ वटा विकास बैंक, १० वटा फाइनान्स कम्पनी र २५ वटा लघुवित्त संस्था छन् । 

    कम्पनी ऐन २०६३ ले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सबै कम्पनीले साधारणसभा गरिसक्नुपर्ने उल्लेख गरिएको छ । यसअनुसार आगामी पुस मसान्तभित्र ती कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्छ । कम्पनी ऐनले अर्को शर्त पनि ताकेको छ । त्यसरी वार्षिक साधारणसभा बोलाउँदा कम्तीमा २१ दिनको समय राख्नुपर्छ ।  

    तर, तोकिएको २१ दिनको समय राखेर साधारणसभा बोलाउने समय अब छैन । यसका लागि शुक्रबारसम्म साधारणसभा आह्वान गरिसकेको हुनुपर्छ । तर, सो समयसम्म साधारणसभा आह्वान नगरेका संस्थाको साधारणसभा अब माघ लागेपछि मात्रै हुन सक्छ, जुन ऐनले तोकेको व्यवस्थाभन्दा बाहिर हो । यस्तो अवस्थामा कार्यालयले त्यस्ता संस्थालाई तोकेबमोजिमको जरिवाना गराउने व्यवस्था गरेको छ । 

    कुन कुन छन् कम्पनी ? 

    यसरी साधारणसभा गर्न नसक्ने कम्पनीहरुमा विकास बैंकतर्फ राष्ट्रिय स्तरको गरिमा विकास बैंक र प्रादेशिक स्तरका कर्णाली, एक्सेल, कर्पोरेट, सिन्धु, साल्पा, सप्तकोशी र ग्रीन डेभलपमेन्ट बैंकले तोकिएको समयमा साधारणसभा बोलाउन सकेका छैनन् । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभ्ने प्रक्रिया पूरा गरेको र एकीकृत वित्तीय विवरण स्वीकृत हुन समय लाग्न भएका कारण साधारणसभा कोलाउन ढिलाइ गरेको हो । अन्य बैंकहरुको भने आफ्नै कारणले यस्तो ढिलाइ भएको हो ।

    उता वित्त कम्पनीतर्फ नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिप्रोपोज फाइनान्स, समृद्धि फाइनान्स र रिलायन्स फाइनान्सले समयमा साधारणसभा बोलाउन सकेका छैनन् । यी कम्पनीहरु पनि कम्पनी रजिष्ट्रार कार्यालयको कारबाहीमा पर्नेछन् । फाइनान्स कम्पनीमध्ये अहिलेसम्म नेपाल शेयर मार्केट फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको समेत अस्थित्व कायम भए पनि यी कम्पनीहरु भने खारेजीको चरणमा रहेकाले यस्ता कम्पनीले साधारणसभा बोलाउनु पर्दैन ।  

    त्यसबाहेक हाल अस्थित्वमा रहेका ६७ वटा लघुवित्त संस्थामध्ये ४२ कम्पनीले मात्रै साधारणसभा बोलाएका छन् । साधारणसभा बोलाउन बाँकी कम्पनीमध्ये केहीले राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिको लागि गएका छन् भने केही संस्थाहरु अहिलेसम्म राष्ट्र बैंक समेत पुग्न सकेका छैनन् । 

    साधारणसभा बोलाउन बाँकी रहेका लघुवित्तहरुमा ग्रामीण विकास, कालिका, जनउत्थान, फरवार्ड, महुली, नेशनल, वायन नेपाल, नाडेप, आरम्भ चौतारी, आँधिखोला, स्वाभिमान, साधना, नयाँ सारथी, समिट, बुद्ध ज्योति, युनिक नेपाल, जाल्पा, उपकार, बीपीडल्यु, धवलागिरि, नेष्डो, आत्मनिर्भर, सिर्जनशील, किसान, जीवन विकास, सुपर र खप्तड लघुवित्त छन् । 

    समयमा साधारणसभा नगर्नेलाई के हुन्छ कारबाही ? 

    कम्पनी ऐनले समयमै साधारणसभा गर्न नसक्ने १ करोड भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीलाई म्याद सकिएको ३ महिनासम्म ५ हजार रुपैयाँ, ६ महिनासम्म १२ हजार रुपैयाँ, एक वर्षभन्दा बढी भए २२ हजार रुपैयाँ र सोभन्दा बढी समयसम्म साधारणसभा नगर्ने कम्पनीलाई प्रत्येक वर्ष २० हजार रुपैयाँको दरले जरिवाना गर्ने व्यवस्था गरेको छ । जरिवाना रकम ठूलो नभए पनि यसले कम्पनीहरुलाई नैतिक दबाब दिने गर्छ ।

    उता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी छ भने यसरी समयमा साधारणभा नगर्ने कम्पनीको शेयर धितोमा राखेर ऋण लिन समेत नपाइने व्यवस्था छ । नेप्सेले मार्जिन ट्रेडिङका लागि समेत यस्ता कम्पनीको शेयरमा बन्देज लगाएको छ । 


    images

    Logo