काठमाडौं । भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा उडान गर्ने जहाजले आउँदाे हप्तादेखि भरतपुरमै इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेदेखि भरतपुरमै इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो ।
निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । उनले भने, यही फागुन ६ गतेदेखि रिफिलिङ गर्ने गरी काम भइरहेको छ । डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ । दिगो रूपमा काम गर्न भने ६ महिनादेखि एक वर्ष लाग्ने छ ।
जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उनले बताए । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि ४ देखि ५ कराेड रुपैयाँ खर्च हुने जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताए ।
बुद्ध एअरले भरतपुरबाट काठमाडौं र पोखरा गरी दैनिक ७ वटा जहाज उडान भर्दै आएको छ । २ वटा ४७ सिटका र ५ वटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एअर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए । यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौंबाट यहाँ आउने जहाजमा थप २ जना यात्रु ल्याउन सकिने उनको भनाइ छ ।
बुद्ध एअरको ७२ सिटको जहाजले काठमाडौंबाट आउँदा अहिले ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ । बस्नेतका अनुसार यहाँबाट उड्दा भने अहिले ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ ।
यस्तै ४७ सिटको जहाजले अहिले काठमाडौंबाट आउँदा ४५ जना र फर्कँदा ४३ जना लिएर जाने गरेको छ । गर्मीयाममा काठमाडौंबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी यात्रु बोकेर जाने गरेको छ ।


