काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना २०८१–२०८६ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले फागुन १२ गतेको बैठकका निर्णय आज सार्वजनिक गर्दै निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने बताए ।
वैठकले चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ ।
बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ । न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताए ।


