काठमाडौं । निर्वाचन आयोग, नेपाल ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सवारी आवागमनसम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ । आयोगका अनुसार फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म देशभर सार्वजनिक सवारी साधन पूर्णरूपमा बन्द रहनेछन् ।
आयोगका अनुसार मतदानका दिन अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ । विशिष्ट परिस्थिति र निश्चित सेवाका लागि सवारी पासको व्यवस्था गरिएको छ र पास वितरण प्रक्रिया सुरू भइसकेको छ ।
कुन गाडीलाई पास अनिवार्य ?
आयोगले सवारीलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ । पहिलो श्रेणीमा पर्ने सवारीले अनिवार्य रूपमा पास लिनुपर्नेछ । यसअन्तर्गत
सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार र उनीहरूका प्रतिनिधि (कार्यविधि दफा ५ बमोजिम)
निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था
कूटनीतिक नियोगका सवारी साधन
प्रेस पास प्राप्त सञ्चारकर्मी
संवैधानिक निकायका पदाधिकारी तथा राष्ट्रिय सूचना आयोगका प्रतिनिधि
विशिष्ट व्यक्तिहरू
यी सबैले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासका आधारमा मात्र सवारी सञ्चालन गर्न पाउनेछन् ।
कुन गाडीलाई पास आवश्यक पर्दैन ?
मानवीय र प्राविधिक संवेदनशीलताका आधारमा केही अत्यावश्यक सेवाका सवारीलाई पासको अनिवार्यताबाट मुक्त राखिएको छ। यस्ता सवारीहरूमा
एम्बुलेन्स, शव वाहन र दमकल
अस्पतालका सेवा सवारी
खानेपानी ट्याङ्कर तथा दूध ढुवानी गर्ने सवारी
विद्युत्, दूरसञ्चार र सूचना–प्रविधिसम्बन्धी सेवा सवारी
डाटा सेन्टर तथा अन्य प्राविधिक सेवा सञ्चालनमा खटिएका सवारी
आयोगले यस्ता सेवाहरूलाई निर्बाध सञ्चालनको वातावरण मिलाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको जनाएको छ।



