काठमाडौं । निर्वाचन आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धता फेरि दोहोर्याएको छ ।
चुनाव तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले गरेको वाचा समयमै पूरा गर्ने दाबी गरे । उनले मतपेटिका संकलन प्रक्रिया पनि यथाशीघ्र सम्पन्न गरिने बताए ।
सडक सञ्जाल पुगेका क्षेत्रमा सवारीसाधनमार्फत मतपेटिका ढुवानी गरिनेछ भने छोटो दूरीमा बोकेर लैजाने व्यवस्था गरिएको छ । हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट भने हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिने आयोगले जनाएको छ । हेलिकप्टर प्रयोग गर्दा मतपेटिका साटिने भन्ने प्रचारित हल्ला पूर्ण रूपमा आधारहीन र भ्रामक रहेको भण्डारीले स्पष्ट पारे ।
उनका अनुसार मतदान सकिएलगत्तै राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिल गरिनेछ र त्यसमा उनीहरूकै चिह्नसहित लाहाछाप लगाइनेछ ।
सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, मध्य घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालन गरिने पुरानै व्यवस्था यथावत् राखिएको आयोगले जनाएको छ । दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको सुरक्षित हेलिकप्टर प्रयोग गरिने बताउँदै सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने अफवाहमा विश्वास नगर्न आयोगले आग्रह गरेको छ ।


