images
images

चार घण्टामा १० प्रतिशतभन्दा बढी मतदान


  • 217
    SHARES
  • २०८२ फाल्गुण २१ गते बिहीबार

    चार घण्टामा १० प्रतिशतभन्दा बढी मतदान

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा चार घण्टाको अवधिमा १० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८ सय २४ मत खसेको छ, जुन कुल मतदाताको करिब १०.१८ प्रतिशत हो ।

    यस निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी कुल एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् । त्यसबाहेक एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता पनि कायम गरिएको आयोगले जनाएको छ ।

    निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । साथै १ सय ४३ अस्थायी मतदानस्थलको व्यवस्था गरिएको छ ।

    निर्वाचन आयोगले यसपटक करिब ६५ प्रतिशत मतदान हुने र खसेका मतमध्ये ९९ प्रतिशत मत सदर हुने अपेक्षा गरेको जनाएको छ । हाल देशभर अधिकांश स्थानमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

    यसैबीच गृह मन्त्रालयले पनि केही स्थानमा सामान्य विवादबाहेक समग्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको जनाएको छ । मतदान केन्द्र र आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएकाले मतदाता निर्धक्क भएर मतदानमा सहभागी भइरहेका छन् । मतदान आज बेलुकी ५ बजेसम्म जारी रहनेछ ।


    images

    Logo