images
images

सदावहार प्रतिपक्षको अन्त्य: प्रेम सुवाल पराजित, नयाँ संसदमा रहनेछैन नेमकिपा


  • 315
    SHARES
  • २०८२ फाल्गुण २३ गते शनिबार

    सदावहार प्रतिपक्षको अन्त्य: प्रेम सुवाल पराजित, नयाँ संसदमा रहनेछैन नेमकिपा

    भक्तपुर । नयाँ प्रतिनिधिसभामा वामपन्थी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को उपस्थिति नहुने भएको छ । संसदमा लामो समयदेखि सदावहार प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका नेमकिपाका सांसद प्रेम सुवाल यसपटकको निर्वाचनमा पराजित भएसँगै पार्टी संसदबाहिर पुगेको हो ।

    बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको लहरले नेमकिपाको बलियो गढसमेत ढालेको छ ।

    भक्तपुर क्षेत्र नम्बर १ मा सुवाललाई पराजित गर्दै रास्वपाका रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी सुवालले २८ हजार १४७ मत प्राप्त गरे ।

    संसदमा स्पष्ट र कडा अभिव्यक्ति र सरकारमा जानका लागि हालसम्म कसैसँग पनि गठबन्धन नगरेका कारण नेमकिपाका सुवाललाई ‘सदावहार प्रतिपक्षी’ सांसदका रूपमा चिनिने गरिन्थ्यो । प्रतिनिधिसभाको बैठक होस् वा संसदीय समितिका छलफल, उनले जनसरोकारका विषयमा नियमित रूपमा आफ्ना धारणा राख्ने गरेका थिए । सरकारको आलोचना र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा स्पष्ट अडान राख्ने नेताका रूपमा पनि उनको पहिचान बनेको थियो ।

    भक्तपुर–१ नेमकिपाको ऐतिहासिक गढ मानिन्थ्यो । यस क्षेत्रमा २०४८, २०५१, २०६४ र २०७० सालमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए भने २०७४ र २०७९ सालमा सुवाल निर्वाचित भएका थिए ।

    २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को लहर देखिँदा र २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादीबीच वाम गठबन्धन बनेका बेला पनि नेमकिपाको यो गढ जोगिएको थियो । तर यसपटकको चुनावी लहरले भने पार्टीलाई संसदबाटै बाहिर पुर्‍याएको छ ।

    छोटो सिट संख्याका बाबजुद पनि नेमकिपाले मन्त्री पद वा राजकीय नियुक्तिका लागि दौडधुप नगरी संसदमा वैचारिक प्रतिपक्षको भूमिका निभाउँदै आएको थियो । तर यसपटक ‘सदावहार प्रतिपक्षी’ सुवाल नै पराजित भएपछि नेमकिपाको संसद यात्रा रोकिएको छ । 


    images

    Logo