images
images

‘चार महिना उच्च जोखिमः वन डढेलो रोक्न सबैको साथ आवश्यक’ – प्रमुख सिग्देल


  • 1.2K
    SHARES
  • २०८२ चैत्र ३ गते मंगलबार

    ‘चार महिना उच्च जोखिमः वन डढेलो रोक्न सबैको साथ आवश्यक’ – प्रमुख सिग्देल

    भक्तपुर । डिभिजन वन कार्यालय भक्तपुरकी प्रमुख श्रद्धा सिग्देलले नेपालमा वन डढेलोको जोखिम फागनुदेखि जेठसम्म अत्यधिक हुने बताएकी छन् । उनका अनुसार आगलागी हुनका लागि आगोको स्रोत, इन्धन र अक्सिजन आवश्यक पर्छ, जसलाई ‘फायर ट्रायाङ्गल’ भनिन्छ। 

    यी तीन तत्वको संयोजन हुँदा वन डढेलो सजिलै फैलिन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनले जोड दिइन् । डढेलो नियन्त्रणकालागि सप्ताहब्यापी सचेतनामुलक कार्यक्रमको अवसरमा कार्यालय प्रमुख सिग्देलले यस्तो बताएकी हुन् । 

    division ban karyala.jpg

    वन डढेलो व्यवस्थापनका लागि तीन प्रमुख चरण रहने उनले स्पष्ट पारिन् । पहिलो, पूर्वतयारी चरण जसमा जोखिम न्यूनीकरणका उपायहरू अपनाइन्छन् । दोस्रो, प्रतिकार्य वा नियन्त्रण चरण, जहाँ लागेको आगो निभाउने काम गरिन्छ । 

    तेस्रो, पुनःउत्थान चरण, जसमा प्रभावित वन क्षेत्रको पुनस्र्थापना गरिन्छ । ‘रोग लागेपछि उपचारभन्दा पहिले नै रोकथाम गर्नु उत्तम हुन्छ,’ भन्ने सन्देश उनले दिइन् । 

    वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय भक्तपुरले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सचेतना र्याली, विद्यालयस्तरीय कार्यक्रम, स्थानीय एफएममार्फत जनचेतनामूलक सन्देश प्रसारण, हरित स्वयंसेवक परिचालनजस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन् । 

    साथै, वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल लगायत निकायसँग समन्वय गरी फोकल पर्सन तोकिएको छ । छिटो प्रतिक्रिया दिने टोली (र्यापिड रेस्पोन्स टिम) गठन गरिएको छ भने अग्निरेखा निर्माण र वन उद्यम सञ्चालनमार्फत इन्धनको मात्रा घटाउने कामसमेत भइरहेको सिग्देलले जानकारी दिइन् । 

    कानुनी रूपमा वनमा डढेलो लगाउने व्यक्तिलाई कडा कारबाहीको व्यवस्था रहेको छ । वन ऐनअनुसार क्षतिको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको सिग्देलकाे भनाइ छ । 

    वन डढेलो लागेको थाहा पाएमा ढिला नगरी सामुदायिक वन समूह, वन कार्यालय, नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा तुरुन्त जानकारी दिन डिभिजन वन कार्यालय भक्तपुरले आग्रह गरेको छ । 

    सूचना प्राप्त हुनासाथ र्यापिड रेस्पोन्स टिमले आगो नियन्त्रणमा लिने काम गर्ने जनाइएको छ । वन डढेलो नियन्त्रणमा सरकारी निकाय मात्र नभई आम नागरिकको सचेतना र सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहेको प्रमुख सिग्देलको भनाइ छ । 

    ‘वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम’ चैत १ देखि सुरु भएर ७ गतेसम्म सञ्चालन हुनेछ । साेहि क्रममा कार्यालयले बिभिन्न सामुदायिक वन उपभोक्ता समुहलाई अग्नि नियन्त्रण सामग्री समेत बितरण गरेको छ ।


    images

    Logo