भक्तपुर । सवारी चाप बढेसंगै च्यामङसिह– ताथली– नाला सडकमा दुर्घटना बढेका छन् । भक्तपुर–बनेपा–धुलिखेल छ लेन सडक बिस्तार गर्ने क्रममा रहेकाले सवारी चाप बढेसंगै च्यामङसिह– ताथली– नाला सडकमा दिनहुँ दुर्घटना बढ्न थालेको स्थानीयले बताएका छन् ।
दैनिकजसो दुर्घटना भएको गुनासो आउँन थालेपछि भक्तपुरका प्रमुख जिल्ला आधिकारी उमेश कुमार ढकाल नेतृत्वका सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, उद्योगी, सञ्चारकर्मी सम्मेलित टोलीले सो सडकको अनुगमन गरेका छन् । अनुगमनका क्रममा च्यामङसिह– ताथली– नाला सडक अन्तर्गत ताथलीस्थित दत्तात्री खाध्य उधोग नजिकै बढी दुर्घटना हुने गरेको पाइएको प्रजिअ ढकालले बताए ।
यसक्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडी तीनवटासम्म दुर्घटनामा भएको बताउँदै स्थानीय उधोगी सन्जिव मधिकर्मीले आफुपनि असुरक्षित महसुस हुनथालेपछि प्रमुख जिल्ला आधिकारी उमेश कुमार ढकाललाई गुनासो गरेको बताए । दुर्घटना बढेपछि आफुले सडक क्षेत्रमा तीनवटा सिसी क्यामेरा जडान गरिदिएको मधिकर्मिको भनाई थियो ।
राष्ट्रिय सडकमा पार्ने सो क्षेत्रमा एक वर्षअघि चाँगुनारायण नगरपालिकाले नौवटा सिसी क्यामेरा जडान गरेपनि अहिले एउटा पनि सञ्चालनमा नरहेको वडाध्यक्ष गंणेश त्यातले बताए । सिसी क्यामेरासमेत नहुंदा दुर्घटना गरेर सवारी साधन भाग्ने र गल्ती गर्नेलाई कारवाही गर्न समेत समस्या भएको प्रहरी बृत्त जगातेकी प्रमुख चन्चला श्रेष्ठले बताइन ।
सिसी क्यामेरा जडान र सचेतना मुलक बोर्ड राख्न सके दुर्घट्ना न्युनिकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने श्रेष्ठको भनाई छ । साँगुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमि र दु्रत गतीमा सवारी हुइक्याउँने संस्कृतिको विकासभएका कारण दुर्घटना बढेको स्थानीयवासीको भनाइ छ ।
बढी जोखिम हुने स्थानमा ट्राफिक प्रहरी खटाएर निगरानी बढाएर दुर्घट्ना न्युनिकरण गर्नसमेत स्थानीयले माग गरेका छन् । अनुगमनका क्रममा प्रजिअ ढकाल र प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउँने, फ्लेक्स बोर्ड, सिसी क्यामेरा राख्न पहल गर्ने बचन दिए ।
अनुगमनमा ट्राफिक प्रहरी भक्तपुरकी प्रमुख प्रहरी निरिक्षक झरना सोनार, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सोहि स्थानमा केहि महिनाअघि तीनवटा बाईक जुद्दा एक १७ बर्षीय युवाको निधन भएको थियो भने दुई जना गम्भिर घाईते भएका थिए । त्यति मात्र होइन, दैनिकजसो दुर्घटना हुंदा महिनामै आधा दर्जनबढी घाईते र अंगभंग हुंदै आएको स्थानीयहरु बताउँछन् ।


