पटिहानी(भरतपुर) । लस्करै ९० मिटरको दुरीमा ५ सय २० छाता राखिएका छन् । तिनै छाताका कारण देश विदेशका पर्यटक चितवनको भरतपुर नगरपालिकाको वडा नं २२ पटिहानी पुग्ने गरेका छन् ।
राप्ती नदी किनारस्थित यस रमणीय स्थानमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको ‘अम्रेला स्ट्रिट’ सरकारले छनोट गरेका १ सय पर्यटकीय गन्तव्यमध्येमा पनि परेकाले यसको गरिमा अझै बढेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १ करोड रुपैयाँ, भरतपुर महानगरपालिकाको १ करोड ५० लाख रुपैयाँ र सोही वडाबाट ५० लाख रुपैयाँ गरी ३ करोड रुपैयाँको लागतमा स्ट्रिट तयार गरिएको हो ।
समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्ने गरी विश्वका विभिन्न स्थानमा अम्ब्रेला स्ट्रिट बनाउने प्रचलनलाई अनुकरण गर्दै पटिहानीमा अम्रेला स्ट्रिट तयार गरिएको वडा नं २२ का वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
यस क्षेत्रको करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको यस स्थानमा छातासँगै भ्युपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन पार्किङ आदि रहेका छन् । अम्ब्रेला स्ट्रिटभित्र पैदलरुपमा पर्यटक घुम्ने र डुल्ने व्यवस्था मिलाइएको छ ।
नयाँ पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ बनाइएको अम्रेला स्ट्रिट विभिन्न समुन्द्री किनारमा पहिलेदेखि नै बनाउने गरिए पनि नेपालमा यो नयाँ प्रयोगका रुपमा विकास भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए ।
अम्रेला स्ट्रिट आन्तरिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको उल्लेख गर्दै उनले पर्यटन बोर्डले पोखरा, चितवन र लुम्बिनीका पर्यटकीयस्थल समेट्दै स्वर्ण त्रिकोणको अवधारणाका साथ यी क्षेत्रको प्रवद्र्धन गर्न लागेको जानकारी दिए ।
२०७६ साला देखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीय पर्यटन व्यवसायी एवं सिद्धि विनायक इको रेष्टुरेन्टका सञ्चालक छविराम पौडेलले बताए ।
उनका अनुसार विशेषतः शनिबार र सार्वजनिक बिदाका दिनमा झण्डै १ हजार ५सय को हाराहारीमा पर्यटक आउने गरेका छन् । अम्रेला स्ट्रिटभित्र पर्यटक लक्षित पूर्वाधार बन्नेक्रम पनि बढिरहेको उल्लेख गर्दै उनले परिसरभित्र विभिन्न ६ वटा रेष्टुरेन्ट सञ्चालनमा आएको बताए।
यहाँ आएका पर्यटक थारु संस्कृतिमा खाने चिचर, घोँगीलगायत परिकारको स्वाद लिनुका साथै नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज, राप्ती नदीको किनारका साथै विभिन्न वन्यजन्तुको अवलोकनमा लोभिने गरेका छन् ।
अम्म्रेला स्ट्रिटले यस क्षेत्रमा सामान्य व्यापार गर्नेलाई पनि फाइदा पुगेको सो क्षेत्रमा चटपटको व्यापार गर्दै आउनुभएकी मैयाँ घर्तीले बताउए ।
प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा रहेका कारण पनि यो क्षेत्र राम्रै पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सक्ने सरोकारवाला बताए ।
यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधतायुक्त क्षेत्रबाट राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको अवलोकन गर्नुका साथै जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र आदिको भ्रमण गर्न सकिन्छ ।
पटिहानीसहित यस क्षेत्रका पर्यटकीय गन्तव्यको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारीकरणका लागि महानगरपालिका लागेको महानगरपालिकाका प्रमुख रेणु दाहालले बताए ।
भरतपुरलाई पर्यटकीय गन्तव्य लुम्बिनी र पोखरासँग जोड्ने गरी सम्बन्ध विस्तार गरिएको जनाउँदै उनले भरतपुरबाट यी दुवै शहरलाई जोड्नका लागि स्वर्ण त्रिकोणको अवधारणा अघि सारिएको बताए।
पछिल्ला ४ महिनामा २ लाख ४० हजार जनाले पटिहानी क्षेत्रको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।
कोरोनाका कारण लामो समयदेखि घर बाहिर निस्कन नपाएका सर्वसाधारण कोरोना कहर केही मात्रामा कम हुनुका साथै अधिकांशले खोप लगाइसकेका कारण यतिखेर घुम्न निस्कन थालेका छन् ।
अम्रेला स्ट्रिट पछिल्ला समयमा युवायुवतीको भेटघाट गर्ने स्थलका साथै टिकटक बनाउने राम्रै गन्तव्यका रुपमा विकास भइरहेको छ ।


