काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे बिजयी भएका छन् । महासंघको १३औं महाधिवेशनले निकोलस पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले ५१४ मत पाएर विजयी हुँदा निकटतम प्रत्याशी आङ दोर्जी लामाले ४१३ मत पाए । कालिका कन्स्ट्रक्सनका निर्देशक रहेका पाण्डे राप्रपाका पूर्व सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन्।
यस्तै, वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन्। पन्त पाण्डे समूहबाटै उम्मेदवार बनेका थिए। महासचिवमा शिवहरि घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।
निर्वाचनमा लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए।
पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धीरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका थिए। वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) प्रतिस्पर्धामा थिए।
उपाध्यक्षतर्फ एसोसिएटमा नरहरि थपलिया र एनपी शेर्पा चुनावी मैदानमा उत्रिएका थिए। महासचिवमा बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी मनोनयन दर्ता भएको थियो।


