काठमाडौं । नेपाली चित्रकला क्षेत्रका बरिष्ठ कलाकार हरिबहादुर खड्काको ७६ वर्षको उमेरमा निधन भएको छ । उनका सहकर्मी तथा कलाकार जीवन राजोपाध्यायका अनुसार खड्काको अन्त्येष्टि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा गरिनेछ ।
चित्रकलालाई जीवनको ध्येय बनाएका खड्काले आफ्नो सम्पूर्ण सक्रिय समय बबरमहलस्थित नेपाल कला परिषदमा बिताएका थिए । प्रारम्भमा सामान्य कर्मचारीका रूपमा कार्यरत उनी क्रमशः व्यवस्थापक हुँदै परिषदको सञ्चालक समिति कोषाध्यक्षसम्म बनेका थिए । पछिल्ला केही वर्षदेखि उनी परिषदको सञ्चालक समिति सदस्यका रूपमा पनि सक्रिय थिए ।
नेपालका धेरैजसो वरिष्ठ कलाकारहरूको चित्रकला प्रदर्शनी आयोजना तथा व्यवस्थापनमा खड्काको उल्लेखनीय योगदान रहेको थियो । उनले कला परिषदमार्फत देशका थुप्रै कलाकारलाई आफ्नो सिर्जना सार्वजनिक गर्ने अवसर दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
औपचारिक शिक्षा नलिएका उनका लागि चित्रकला स्वअध्ययनको विषय थियो । उनले चर्चित कलाकार लैनसिंह बाङदेललाई गुरु मानेर लामो समयसम्म चित्रकला सिकेका थिए । नेपाल कला परिषद सञ्चालक समितिका सदस्य नरेश सुन्दर सैंजुका अनुसार खड्का अत्यन्त मिलनसार र सहयोगी स्वभावका कलाकार थिए ।
चित्रकला प्रदर्शनीको व्यवस्थापनदेखि नयाँ कलाकारलाई प्रोत्साहन र मार्गदर्शन गर्न उनी सधैं अग्रसर रहने गर्थे । खड्काले सयभन्दा बढी सामूहिक चित्रकला प्रदर्शनीमा सहभागिता जनाएका थिए । ललितपुरको ग्वार्को निवासी खड्काको निधनसँगै नेपाली कला क्षेत्रले एक समर्पित साधक गुमाएको कलाकारहरु वताउँछन् ।


