काठमाडौं । नेपालको पर्यटन तथा आतिथ्यता क्षेत्रमा सेवा दिँदै आएको भिलेज हाइल्याण्ड रिसोर्ट प्रतिष्ठित दक्षिण एसियाली ट्राभल अवार्ड्स (SATA) २०२६ का लागि मनोनयनमा परेको छ ।
दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने SATA अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । यस वर्ष भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेसँगै नेपाली पर्यटन क्षेत्रका लागि समेत यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
भक्तपुरको सूर्यविनायक–८ र काभ्रेको पनौती–१ को संगमस्थल रानीकोट क्षेत्रमा अवस्थित रिसोर्ट प्राकृतिक वातावरण, शान्त तथा पारिवारिक बसाइ, पर्यटकमैत्री संरचना र उत्कृष्ट आतिथ्य सेवाका कारण आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको बताइएको छ । रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमाल हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
रिसोर्ट परिसरमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । साथै ऐतिहासिक रानीकोट किल्ला सहित आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको भ्रमणसमेत गर्न सकिन्छ । रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ ।
रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत SATA २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।
दक्षिण एसियाली ट्राभल अवार्ड्स (SATA) सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलङ्का, माल्दिभ्स, भुटान तथा बंगलादेश लगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।


