काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाए पनि नेपालमा पर्याप्त मौज्दात रहेकाले चिनीको मूल्य नबढ्ने नेपाल चिनी उत्पादक संघले जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै बजारमा चिनीको अभाव नरहेको र हाल मूल्य वृद्धि नगरेको स्पष्ट पारेको हो । चालु क्रसिङ सिजनसम्म देशभरका १३ वटा चिनी उद्योग सञ्चालनमा आएको तथा झण्डै १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ ।
संघका अनुसार हाल उद्योगहरूमा मात्रै करिब १ लाख ८ हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । साथै बजारमा थप करिब २० हजार मेट्रिक टन चिनी उपलब्ध रहेको बताइएको छ ।
आउँदो क्रसिङ सिजनसम्म नेपालमा चिनीको पर्याप्त आपूर्ति रहने संघको दाबी छ । स्वदेशमै पर्याप्त मौज्दात भएकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भन्दै संघले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।


