काठमाडाैं । साउदी अरबमा विभिन्न मुद्दा तथा कानुनी प्रक्रियाका कारण ५४४ जना नेपाली श्रमिक जेलमा रहेका छन् । नेपाली दूतावासका अनुसार श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, भागेको आरोप तथा अन्य प्रशासनिक जटिलताका कारण उनीहरू हिरासतमा रहेका हुन् । दूतावासले उनीहरूको कानुनी सहजीकरण, रिहाइ तथा स्वदेश फिर्ताका लागि पहल गरिरहेको जनाएको छ ।
यस्तै, गत साउनदेखि हालसम्म साउदी अरबमा १३० जना नेपाली श्रमिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । अधिकांशको मृत्यु हृदयघात, सडक तथा कार्यस्थल दुर्घटना, आत्महत्या, दीर्घरोग र प्राकृतिक कारणले भएको दूतावासले जनाएको छ । मृत्यु भएका नेपालीको शव व्यवस्थापन, कानुनी प्रक्रिया र नेपाल पठाउने काममा दूतावास सक्रिय रहेको उल्लेख गरिएको छ ।
यस अवधिमा विभिन्न समस्यामा परेका १५६४ जना नेपाली श्रमिकको समस्या समाधानका लागि पनि दूतावासले पहल गरेको जनाएको छ । साथै अस्पतालमा रहेका २७ जना गम्भीर बिरामी नेपालीको उद्धार तथा उपचार व्यवस्थापन गरिएको र करिब ५०० जनालाई एक्जिट भिषा प्रक्रियामा सहयोग गरिएको जानकारी दिइएको छ ।


