काठमाडौं । नेपाल राष्ट्र बैंक ले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशिक्षित सेवाग्राहीलाई सहज र पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत त्यस्ता सेवाग्राहीलाई विशेष प्राथमिकताका साथ सेवा दिन र आवश्यक परे छुट्टै काउण्टरको व्यवस्था गर्न निर्देशन दिएको हो ।
निर्देशनअनुसार इजाजतप्राप्त संस्थाले आपसी सहकार्यमा प्रत्येक पालिकामा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ । यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, ‘एटिएम लाउञ्ज’ रहेका स्थानमा ब्रेललिपि र ध्वनि सहयोग प्रणालीसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम सेवा आफैँ प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा बैंकले ती सेवा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले बैंकका वेबसाइट तथा मोबाइल एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधि जडान गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको श्रम अधिकारसम्बन्धी विषयलाई समेत समेट्दै अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समयबाहिर जबर्जस्ती काममा लगाउन नपाइने व्यवस्था गरेको जनाएको छ ।


