काठमाडौँ । गर्मी र वर्षायाम शुरु भएसंगै डेंगु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो छ महिनामा एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा डेंगु सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ ।
बिभागका अनुसार हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । झापा, सुनसरी, ओखलढुंगा, चितवन, काठमाडौँ, मकवानपुर, कास्की, चितवन, पाल्पा लगायतका जिल्लामा डेंगुका बिरामी बढी देखिएका छन् । तथ्यांक अनुसार, सबैभन्दा धेरै कोशी प्रदेशमा २९२ जना र बागमती प्रदेशमा २६४ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशमा १६१ जना, लुम्बिनी प्रदेशमा १६७ जना, सुदूरपश्चिम प्रदेशमा ६९ जना, मधेस प्रदेशमा ५२ जना र कर्णाली प्रदेशमा ३७ जनामा डेंगु रोग देखापरेको छ । जिल्लागत रूपमा हेर्दा झापा १३८ जनामा संक्रमण देखिएको छ भने काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९, पाल्पामा ३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
डेंगुको लक्षण सामान्य देखियो भने पारासिटामोल, झोलिलो खानेकुरा खाएपछि निको हुन्छ । कडा लक्षण देखियो भने उपचारका लागि स्वास्थ्य संस्था लग्नुपर्ने चिकित्सकहरु बताउँछन् । अत्याधिक पेट दुख्ने, रक्तश्राव, बेहोस हुनु डेंगुका कडा लक्षण हुन् । बिभागका अनुसार, आर्थिक वर्ष २०८१÷०८२ मा नेपालभर ५४ हजार ३५० जनामा डेंगु संक्रमण भएको थियो । अघिल्लो आव २०८०÷०८१ मा ४८ हजार ८८३ जना संक्रमणमा परेका थिए ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.अनुज भट्टचनले डेंगु नियन्त्रणका लागि अभियान शसरु गरिएको बताए । डेंगु नियन्त्रणका लागि लामखुट्टे खोज र नष्ट गर अभियानमा विद्यार्थी, सुरक्षाकर्मी, निजी क्षेत्र लगायतलाई परिचालन गर्ने योजना रहेको उनको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय, पालिकालाई समेत सचेतनामूलक कार्यक्रम अघि बढाउँन अनुरोध गरिएको भट्टचनले जानकारी दिए ।


