काठमाडौं । मोतीलाल दुगडको अदालती प्रक्रियाका कारण नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरमा व्यवधान आउने संकेत देखिएको छ । आफूसँग शेयर बिक्री सम्झौता गरेर अर्कैलाई शेयर बिक्री गर्न लागेको भन्दै सनराइज बैंकका अध्यक्ष समेत रहेका दुगड पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि दुई बैंकबीचको मर्जर प्रक्रिया अल्झिने संकेत देखिएको हो ।
दुगडले एनबी बैंकको मुख्य विदेशी साझेदार बंगलादेशको आईएफआईसी बैंकले ९ महिना अघि नै दुगडसँग शेयर बिक्री गर्ने सम्झौता गरेको दाबी गरेका छन् । तर, अहिले सम्झौता नै नातोडी अर्को चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीपत्नी सारिका चौधरीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएपछि उनले यसलाई रोक्न अदालतसँग अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरेका छन् ।
अहिले पनि आईएफआईसी र चौधरीबीच शेयर बिक्री भइसकेको छैन । न त दुई संस्थाबीच शेयर खरिदबिक्री गर्नेगरी सम्झौता सार्वजनिक नै भएको छ । यद्यपि आईएफआईसी बैंकले आफू सूचीकृत भएको स्टक एक्सचेञ्जलाई आफूले बंगलादेश बैंकको शेयर बेचेर बाहिरिन लागेको मात्रै भनेको छ ।
उच्च अदालतले दुगडको माग बमोजिम अन्तरिम आदेश जारी गर्यो भने यसले शेयर खरिदबिक्रीको प्रक्रिया अल्झाउनेछ । यसले दुई संस्थाबीचको मर्जरलाई समेत प्रभाव पार्नसक्ने नबिल बैंकले गठन गरेको मर्जरसम्बन्धी अध्ययन समितिका एक सदस्यको विश्लेषण छ ।
'प्रक्रियाको हिसाबले एनबि बैंकको शेयर खरिदबिक्री र दुई बैंकको मर्जरबीच केही सम्बन्ध छैन । दुई बैंकबीचको संयुक्त मर्जर कमिटीबीच मर्जरमा जाने सहमति भयो भने शेयर खरिदबिक्री बिना नै मर्जर प्रक्रिया अघि बढ्न सक्छ,' उनी भन्छन्, 'तर व्यवहारिक रुपमा त्यो फरक छ । मर्जरको पृष्ठभूमि नै शेयर खरिदबिक्री भएकोले यसमा समस्या भए मर्जरमा जान पनि सजिलो छैन ।'
चाैधरी समूहले एनबि बैंकमा आफ्नो स्वामित्वको सुनिश्चिततापछि मात्रै मर्जर अघि बढाउन चाहेको छ । त्यसैले डिल फाइनल भएपछि मात्रै दुई बैंकको मर्जर कमिटी बनेको हो । त्यसो त, आईएफआईसी बैंकको चाहना पनि नबिल बैंकसँग मर्जर भए तत्काल नेपाल नछाड्ने नै थियो । आफू बसेर दुई बैंकबीच मर्जर हुनसक्ने अवस्था नदेखेको सो बैंकले विकल्पको रुपमा शेयर बेच्न सहमत भएको हो ।
त्यसैले शेयरको सुनिश्चितताविना मर्जर अघि बढाउँदा पछि आईएफआईसीले शेयर नै नबेच्ने सम्भावना भएकोले पनि त्यस्तो परिस्थिति आए मर्जर बढ्न नसक्ने अवस्था रहेको विश्लेषण समेत ती अधिकारीको छ ।


