भक्तपुर । बागमती प्रदेशबाट आज एमाले बाहिरिंने भएको छ । एमालेबाट मन्त्री बनेका सबै छ मन्त्रीले आज बिहान १० वजे संयुक्त राजीनामा बुझाउँने भएका हुन् । निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउँने तय भएको छ ।
एमाले मन्त्रीले संयुक्त राजीनामा दिने भएपछि मुख्यमन्त्री बानियाँ हेटौंडा पुग्दैछन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच दुरी बढेपछि कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिन लागेको हो । बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा रहेका छन्।
प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरेपछि यसअघिका स्वास्स्थ मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी साउन १ गतेदेखि विनाविभागीय बनेका थिए। एमालेले राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
सबै प्रदेशमा नयाँ सत्ता गठबन्धन गर्न नेकपा एमाले र नेकपा सहमति नजिक पुगिसकेका छन् । यधपी कुन प्रदेशमा कसले नेतृत्व गर्ने र अर्को दलले कुन कुन मन्त्रायल लिने भन्ने टुंगो लाग्न बाँकी रहेको निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरले बताए ।


