images
images

वरिष्ठलाई हटाएर गभर्नरले ढकाललाई किन ल्याए राष्ट्र बैंक व्यवस्थापनमा ?


  • 791
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    वरिष्ठलाई हटाएर गभर्नरले ढकाललाई किन ल्याए राष्ट्र बैंक व्यवस्थापनमा ?

    काठमाडौं । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये सबैभन्दा वरिष्ठ कार्यकारी निर्देशक हुन्, नेफिल मातङ्गि मास्के । भुवन कँडेलको ३० वर्षे कार्यकाल सकिएर अनिवार्य अवकाश पाएपछि उनी सबैभन्दा वरिष्ठ कार्यकारी निर्देशक बनेका हुन् ।

    राष्ट्र बैंकमा कार्यकारी निर्देशकको वरियता क्रम उनीहरु कार्यकारी निर्देशकमा वढुवा भएको मितिका आधारमा निर्धारण गरिन्छ । कार्यकारी निर्देशकले गभर्नरले तोके अनुसार एक एक विभागको जिम्मेवारी पाउँछन् । सबै विभागको हैसियत समान हुने भएकोले कार्यकारी निर्देशकलाई एउटा विभागबाट अर्को विभागमा पठाउनु गभर्नरको तजबिजी अधिकारभित्र पर्छ । 

    तर, राष्ट्र बैंकको व्यवस्थापनमा भने यसअघि वरिष्ठ कार्यकारी निर्देशकले नै सदस्य सचिवको भूमिका निर्वाह गर्ने अभ्यास थियो । अहिले भने यो अभ्यास तोडिएको छ । गभर्नर महाप्रसाद अधिकारीले वरिष्ठ कार्यकारी निर्देशक मास्केलाई सदस्य सचिवबाट हटाएर दोस्रो वरियताका देवकुमार ढकाललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । 

    नेपाल राष्ट्र बैंक नियमावलीले राष्ट्र बैंक व्यवस्थापनको सदस्य सचिवमा वरिष्ठतम् कार्यकारी निर्देशकमध्ये एक जनालाई गभर्नरले सदस्यसचिव तोक्न सक्ने व्यवस्था गरेको छ । नियमावलीले वरिष्ठ कार्यकारी निर्देशकलाई नै अनिवार्य रुपमा जिम्मेवारी दिनुपर्ने व्यवस्था नभए पनि राष्ट्र बैंकमा यही नजीर स्थापित हुँदै आएको थियो । 

    नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी राष्ट्र बैंकमा विगतदेखि नै वरिष्ठलाई नै सदस्य सचिवको जिम्मेवारी दिने व्यवस्था रहेको बताउँछन् । यसरी वरिष्ठलाई जिम्मेवारी दिँदा सबैले यो भूमिका रहेर अनुभव हासिल गर्न पाउने भएकोले यो अभ्यास राम्रो भएको उनको भनाइ छ । 

    ‘राष्ट्र बैंकमा म वरिष्ठ हुँदा मैले नै यो जिम्मेवारी पाएको थिएँ । अरु वरिष्ठ हुँदा अरुले नै जिम्मेवारी पाएका थिए, यो अभ्यास राम्रो पनि हो,’ उनले भने, ‘अहिले दोस्रो नम्बरकोलाई दिनु नौलो अभ्यास हो । व्यवहारिक कारणले यसो भएको हुन सक्छ ।’

    किन 'बाइपास'मा परे मास्के ? 

    नेपाली बाबु र इन्डोनेसियन आमाको सन्तान रहेका उनी नेपाली नागरिक भए पनि उनको वाल्यकाल इन्डोनेसियामै बित्यो । उनले उतै पढे । पछि अमेरिका गएर उनले विद्यावारिधि गरे । त्यसपछि मात्रै उनी नेपाल राष्ट्र बैंक आएका हुन् । 

    वाल्यकाल र शिक्षा विदेशमा हासिल गरेका कारण अहिले पनि उनी प्रष्ठ नेपाली बोल्न सक्दैनन् । यही कारण राष्ट्र बैंकमा यति लामो समयसम्म कार्यकारी निर्देशक रहँदा पनि उनी सार्वजनिक रुपमा कहिलै चर्चामा आएनन् । 

    राष्ट्र बैंक व्यवस्थापनमा स्वकीय सचिवको रुपमा कार्यरत रहँदा विभागीय प्रस्तावहरुलाई समितिमा पेश गर्ने, व्यवस्थापनका निर्णयहरुलाई माइन्युट गर्ने र यसको कार्यान्वयनका लागि सम्बनिधत विभागमा लेखेर पठाउनुपर्ने भएका कारण यसका लागि नेपाली भाषा राम्रोसँग आउनुपर्छ । तर, नेपाली कमजोर भएकै कारण उनलाई यो जिम्मेवारीबाट हटाइएको हो । 

    कार्यकारी निर्देशक मास्के आफ्नो व्यवहारिक कारणबाटै यो जिम्मेवारीबाट अलग भएको बताउँछन् । ‘केही समय मैले यो जिम्मेवारी निर्वाह गरेको हुँ । व्यवहारिक कारणले यसबाट अलग भएको हुँ,’ कार्यकारी निर्देशक मास्केले भने, ‘गभर्नरज्यूसँगको सल्लाहमै उहाँ (देवकुमार ढकाल) लाई यो जिम्मेवारी दिइएको हो ।’


    images

    Logo