काठमाडौं । नबिल बैंककाे ३८ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे शुक्रबार बसेकाे ३७ औं वार्षिक साधारण सभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेकाे ३३ प्रतिशत बाेनस शेयर र ४ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे । प्रस्तावित बोनस शेयर पश्चात बैंकको पुँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाईलाई आधुनिकीकरण गर्न, देशको व्यवसायिक एवम् औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए । उनले आगामी दिनमा समेत संस्थागत सुशासन र ग्राहकको सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको बताए ।
सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई)का लागि उदयकृष्ण उपाध्याय र एनबी (इन्टरनेशनल) लिमिटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेल लाई निर्विरोध निर्वाचित गरेको थियो । साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं बैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नै चयन गरेको छ ।
बैंकले स्थापनाकालदेखि हालसम्म रू. १६ अर्बभन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको जनाएकाे छ । हाल नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।


