भक्तपुर। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था सुरु गरिएको छ ।
ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै काठमाडौं आउन नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले चितवन, मकवानपुर, बारा, पर्सा र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने भएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरै ग्यास भर्न अनुमति दिएको छ । त्यसअनुसार उपत्यका र आसपासका १६ वटा उद्योगले विभिन्न जिल्लाका ग्यास उद्योगसँग समन्वय गरी आपूर्ति व्यवस्थापन थालेका छन् ।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको अध्यक्ष चन्दले बताउनुभयो। कृष्णभीरको सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक व्यवस्था गरिएको उहाँको भनाइ छ।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक सडकबाट काठमाडौं ल्याइनेछ। त्रिभुवन राजपथलगायत उपलब्ध सडक प्रयोग गरेर ग्यास ढुवानी गरिने उहाँले जानकारी दिनुभयो।
राजधानीबाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यकामा तत्काल ग्यास अभाव नहुने कालाखेतीको दाबी छ। उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्नसमेत आग्रह गर्नुभएको छ।
कालाखेतीका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्ण ग्यासले साइबाबा, श्रीराम ग्यासले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगमा ग्यास भर्न सुरु गरेका छन्। त्यसैगरी एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगसँग समन्वय गरी ग्यास भर्न थालेका छन्।
अन्य उद्योगहरूले पनि राजधानीबाहिर रहेका विभिन्न ग्यास उद्योगसँग समन्वय गरी आपूर्ति व्यवस्थापन सुरु गरेका छन्।
कृष्णभीरको सडक अवरोधका कारण ढुवानीमा चुनौती देखिए पनि वैकल्पिक उद्योग र सडक प्रयोग गरेर ग्यास आपूर्ति निरन्तर राख्ने तयारी गरिएको उद्योगीहरूले बताएका छन्।



