images
images

रातको १२ बजे पनि कोदालो बोकेर निस्किने पर्यटन अभियन्ता


  • 259
    SHARES
  • २०८३ श्रावण १५ गते शुक्रबार

    रातको १२ बजे पनि कोदालो बोकेर निस्किने पर्यटन अभियन्ता

    भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट ६ किलोमिटर नजिक भएर पनि विकासको दृष्टिले निकै टाढा परेको एउटा सुन्दर डाँडाको नाम हो, रानीकोट । सफा मौसममा यहाँबाट गणेश, लाङटाङदेखि गौरीशंकरसम्मका हिमशृङ्खला देखिन्छन् । तल भक्तपुर र काठमाडौंका बस्तीहरू झिलिमिली देखिन्छन् । सूर्योदय र सूर्यास्तको दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।

    यति धेरै प्राकृतिक सम्भावना हुँदाहुँदै पनि रानीकोटले आजसम्म राज्यको प्राथमिकता पाउन सकेको छैन । यहाँ पुग्ने मुख्य सडक अझै २ किलोमिटरजति कच्ची छ । वर्षायाममा हिलोले सडकलाई अवरुद्ध बनाउन खोज्छ । कतिपय अवस्थामा पर्यटक बोकेका सवारी साधन बीच बाटोमै रोकिन्छन् ।

    यही कठिनाइसँग झन्डै एक दशकदेखि जुधिरहेको एउटा ब्यक्तित्व हुन्, रामसुन्दर बके । रामसुन्दर बके व्यवसायी हुन् । तर उनलाई नजिकबाट चिन्नेहरूका अनुसार उनको परिचय होटल व्यवसायीभन्दा धेरै ठूलो छ । पर्यटनलाई केवल व्यवसाय होइन, स्थानीय समृद्धिको माध्यम मान्ने अभियन्ता हुन् उनी । रानीकोटको सम्भावना उजागर गर्दै नगरकोटको बिकल्प देखाईदिने पर्यटन ब्यवसायी पनि हुन् उनी ।

    रानीकोटमा करोडौं रुपैयाँ लगानी गरेर उनले पर्यटकीय पूर्वाधार निर्माण गरे । भिलेज हाइल्याण्ड नामक रिसोर्ट बनाए । तर उनको काम त्यतिमै सीमित भएन । रानीकोटको पहिचान निर्माण गर्ने, यहाँ पर्यटक भित्राउने र स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने अभियानमा उनी निरन्तर सक्रिय रहेका छन् । स्थानीयका अनुसार, होटलमा बस्न आएका पाहुनाको गाडी राति अबेर बाटोमा बिग्रियो भने उनलाई निन्द्राले छोड्छ ।

    village hailend.jpg

    आवश्यकता अनु सार रातको बाह्र बजे पनि कोदालो र आवश्यक उपकरण लिएर सहयोगीहरूसँग घटनास्थल पुग्ने उनको बानी छ । हिलो पन्छाउने, गाडी निकाल्ने र पाहुनालाई सुरक्षित गन्तव्यसम्म पु¥याउने काम उनी आफैंले गर्ने गरेको स्थानीय र उनका सहकर्मीहरू बताउँछन् । सायद यही कारणले उनलाई धेरैले होटल सञ्चालकभन्दा पहिले रानीकोटका अभिभावकका रूपमा सम्झिन्छन् ।

    पर्यटनप्रतिको फरक दृष्टिकोण
    रामसुन्दर बकेको बुझाइमा पर्यटन भनेको केवल होटलमा कोठा बेच्ने व्यवसाय होइन । पर्यटकले स्थानीय संस्कृति, स्थानीय खाना, स्थानीय उत्पादन र स्थानीय जीवनशैली अनुभव गर्न पाउनुपर्छ भन्ने उनको धारणा छ । पर्यटनबाट स्थानीय युवाले रोजगारी पाउनुपर्छ, किसानको उत्पादनले बजार पाउनुपर्छ र गाउँमै आर्थिक गतिविधि बढ्नुपर्छ भन्ने सोच उनले विभिन्न सार्वजनिक कार्यक्रममा व्यक्त गर्दै आएका छन् ।

    रामसुन्दरको अर्को विशेषता भनेको अध्ययनशील स्वभाव हो । पर्यटन विकासका अन्तर्राष्ट्रिय अभ्यास, गन्तव्य व्यवस्थापन र निजी क्षेत्रको भूमिकाबारे उनी निरन्तर अध्ययन र छलफलमा सक्रिय रहने सहकर्मीहरू बताउँछन् । उनीसँग कुराकानी गर्नेहरूले प्रायः एउटै कुरा उल्लेख गर्छन् – उनी समस्या मात्र देखाउँदैनन्, समाधानका प्रस्ताव पनि राख्छन् । 

    राज्यको बेवास्ता
    रानीकोटको सबैभन्दा ठूलो समस्या प्राकृतिक स्रोतको होइन, पूर्वाधारको अभाव हो । काठमाडौंबाट छोटो दूरीमा रहेको यस्तो गन्तव्यसम्म पुग्ने सडक नै सहज छैन । वर्षायाममा पर्यटक आउन हिच्किचाउँछन् । निजी क्षेत्रले लगानी गरिरहे पनि आधारभूत पूर्वाधार निर्माणमा सरकारी उपस्थिति कमजोर देखिन्छ ।

    यदि सडक स्तरोन्नति, व्यवस्थित पार्किङ, खानेपानी, सूचना केन्द्र, पदमार्ग, संकेत बोर्ड र गन्तव्य व्यवस्थापनमा राज्यले योजनाबद्ध लगानी गर्ने हो भने रानीकोट काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायीहरूको विश्वास छ । तर अहिले पनि निजी क्षेत्रले आफ्नै बलमा सम्भावना जोगाइरहेको अवस्था छ । 


    व्यक्तिगत पीडामाथि उठेको संकल्प
    रामसुन्दर बकेको जीवनमा एउटा गहिरो व्यक्तिगत पीडा पनि छ । उनका छोरा सुनकोशी नदीमा गाडीसहित बेपत्ता छन् । त्यो घटनाले उनी र उनको परिवारलाई गम्भीर आघात पारेको छ । यस्तो पीडाले धेरै मानिसलाई जीवनबाट टाढा लैजान सक्छ । तर उनी भने फेरि रानीकोटमै फर्किए ।

    पुत्रशोकको चट्याङ पर्दापनि उनले पर्यटन विकासको अभियान रोकेनन् । व्यक्तिगत दुःखलाई सार्वजनिक जिम्मेवारीमाथि हावी हुन कहिल्यै दिएनन् । मान्छेहरु बाऊको सपना साकार पार्न संघर्षरत हुन्छन् । तर रामसुन्दर छोराको आत्मशान्तिकालागि सक्रिय छन् । सायद यही कारण उनी गल्दैनन् ।


    रानीकोटले अझै पर्खिरहेको साथ
    नेपालले पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधार भन्ने गर्छ । तर त्यसका लागि आवश्यक पूर्वाधारमा लगानी नगर्ने हो भने सम्भावनाले मात्र विकास सम्भव हुँदैन । रानीकोट त्यसको एउटा उदाहरण हो । यहाँ प्रकृतिले सबै दिएको छ । निजी क्षेत्रले लगानी पनि गरेको छ । स्थानीय समुदायले साथ पनि दिएको छ । नगरकोट र भेडेटारको समिश्रण जस्तै लाग्छ, रानीकोटको प्रकृतिपनि । अभाव छ त केवल राज्यको दीर्घकालीन दृष्टि र पूर्वाधारमा प्रतिबद्ध लगानीको ।

    रातको बाह्र बजे पनि पर्यटकको बाटो बनाउन कोदालो बोकेर निस्कने मानिसको समर्पणले केही दूरी त पार गर्न सक्छ । तर एउटा सम्पूर्ण गन्तव्यको भविष्य एक व्यक्तिको काँधले धेरै उचाईमा पुरयाउन कठिन हुन्छ । रानीकोटको वास्तविक विकास त्यतिबेला हुनेछ, जब राज्यले पनि रामसुन्दर बकेले देखेको सम्भावनालाई आत्मसाथ गर्नेछ ।

    bake--2.jpg




    images

    Logo