काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ‘इप्पान’ मा आबद्ध ऊर्जा उद्यमीहरूले १३ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको जनाउँदै अध्यक्ष डाँगीले संकटमा परेका नागरिकसँगै राज्यलाई सहयोग गर्ने उद्देश्यले रकम जुटाइएको बताए ।
मन्त्री श्रेष्ठले विपद्का बेला निजी क्षेत्रले गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै जलवायु परिवर्तनका कारण बढ्दो विपद्लाई ध्यानमा राखेर जलवायु–मैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।
इप्पानका अनुसार सहयोग गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले १ करोड ६५ लाख, हिमप्रसाद पाठक समूहले १ करोड ५१ लाख र पुष्पज्योति ढुङ्गाना समूहले १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँ प्रदान गरेका छन् । अन्य ऊर्जा उद्यमी तथा जलविद्युत् कम्पनीहरूले पनि विभिन्न रकम सहयोग गरेका छन् ।
यो सहयोग बाढी प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ ।



