images
images

आज श्रीकृष्ण जन्माष्टमी, देशभर कृष्णमन्दिरमा भक्तजनको घुइँचो


  • 128
    SHARES
  • २०८३ भाद्र १९ गते शुक्रबार

    आज श्रीकृष्ण जन्माष्टमी, देशभर कृष्णमन्दिरमा भक्तजनको घुइँचो

    काठमाडौँ, १९ भदौ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना, व्रत तथा भजनकीर्तन गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।

    द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ । जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा विशेष पूजाआराधना, प्रवचन, भजनकीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ ।

    भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार र दानवी प्रवृत्तिविरुद्ध संघर्ष गर्दै सत्य र सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरणा दिएको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैले जन्माष्टमीलाई सत्य, धर्म र न्यायको पक्षमा उभिन प्रेरणा दिने पर्वका रूपमा समेत लिइन्छ।

    यस दिन महिला तथा पुरुष भक्तजन व्रत बस्ने, भगवान् श्रीकृष्णको पूजा गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ । विशेषगरी मध्यरातमा श्रीकृष्णको जन्म भएको मानिने समय पारेर मन्दिरमा विशेष पूजा तथा आराधना गरिन्छ ।

    कुरुक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भगवद्गीता’ हिन्दू धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थ मानिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगको मार्ग प्रस्तुत गर्ने गीतालाई ‘गीता’ नामले समेत चिनिन्छ ।

    पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको र पुतना, कंश, जरासन्ध तथा शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको उल्लेख छ ।

    पाटनमा विशेष रौनक

    जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्ने भएकाले बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने गर्छ । दर्शन तथा पूजाका लागि देशका विभिन्न स्थानबाट भक्तजन पाटन पुग्ने गरेका छन् ।

    यसैगरी काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको नवतनधाम लगायत राजधानीका विभिन्न कृष्णमन्दिरमा पनि विशेष धार्मिक कार्यक्रम आयोजना गरिन्छ ।

    जन्माष्टमीकै अवसरमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । राजधानीका विभिन्न स्थानमा रहेका ठूला-साना कृष्णमन्दिरमा दिनभर भक्तजनको चहलपहल रहनेछ ।

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।




    images
    images

    Logo